सुजिताको शव अस्पताल लैजान अवरोध, हत्यारा पक्राउको माग गर्दै राजमार्ग बन्द
काठमाडौं, चितवन - जंगलमा मृत भेटिएकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।
राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार फेला परेको थियो।
उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ। सो क्रममा भण्डारीका परिवार र आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका हुन् । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेका छन्।
उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस