काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ।

अर्थ मन्त्रालयका अनुसार नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा बिहीबार राति दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री मोदीले सम्बोधन गरेको समिटको सत्रमा अर्थमन्त्री वाग्ले अतिथिका रूपमा सहभागी भएका थिए। सत्रपछि उनीहरूबीच संक्षिप्त कुराकानीसमेत भएको मन्त्रालयले जनाएको छ। यद्यपि, भेटमा भएका कुराकानीका विषयवस्तुबारे मन्त्रालयले खुलाएको छैन।

अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले समिटअन्तर्गत ‘निकटताबाट समृद्धिः भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रलाई पनि सम्बोधन गरेका थिए।

त्यसैगरी, भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सम्बोधन गरेको विशेष सत्रमा पनि वाग्ले सहभागी भएका थिए।