काठमाडौं - वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्र बैंकले आज सूचना जारी गर्दै सुरक्षा जोखिमका कारण सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो। सेवा बन्द रहेकाले बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी प्राप्त गर्न आधिकारिक सामाजिक सञ्जालमार्फत जोडिन राष्ट्र बैंकले आग्रह गरेको छ।
राष्ट्र बैंकले सम्भावित साइबर सुरक्षा जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई पनि आग्रह गरेको छ।
सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई थप सुरक्षित र सबल बनाउन तथा नियमित सुरक्षा निगरानी बढाउन बैंकले निर्देशनात्मक आग्रह गरेको हो।
त्यस्तै, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी)र विप्रेषण कम्पनीहरूलाई समेत आवश्यक सुरक्षा सतर्कता अपनाउन राष्ट्र बैंकले अपिल गरेको छ।
विश्वव्यापी रूपमा देखिएको उक्त सुरक्षा जोखिमको प्रभाव न्यूनीकरण गर्न डिजिटल प्रणालीको सुरक्षा मजबुत बनाउनु र सम्भावित जोखिमको नियमित निगरानी गर्नु आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ ।

.gif)


