काठमाडौं - पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन्।

चीनको हपवेई प्रान्तस्थित स्योङआनमा आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन उनी बिहीबार चीनतर्फ प्रस्थान गरेकी हुन्।

एमालेको वरिष्ठ नेताका रूपमा सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो। उनले उक्त फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मुख्य विषयवस्तु रहेको सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ।

सम्मेलनमा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति, शान्ति स्थापनाका लागि आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिकाबारे छलफल हुनेछ।

त्यसैगरी अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’को भूमिका, जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसजस्ता विषय पनि सम्मेलनको छलफलमा समेटिनेछन्।

अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिने कार्यक्रम छ।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गरेको फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

आयोजकका अनुसार ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिको सहभागिता निश्चित भएको छ।

चीन भ्रमण पूरा गरी पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।