काठमाडौं - प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले पुनः विरोध जनाएका छन्।

शुक्रबार सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठक सुरु हुनासाथ सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अघि बढाउन खोज्दा विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बैठकमा विरोध जनाएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्ति—‘भारतले नेपालको जग्गा मात्र मिचेको होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेका थिए ।

त्यसयता उक्त अभिव्यक्ति सच्याउनु पर्ने भन्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। सोही विषयलाई लिएर शुक्रबारको बैठकमा पनि विपक्षी सांसदहरूले विरोध जनाएका हुन्।

त्यसपछि सभामुख अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवलाई बोल्न समय दिएका थिए ।

उनले पनि सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने अडान दोहोर्‍याए ।