काठमाडौं - नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षा सुधारका मागसहित आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले १५ बुँदे निर्णय पारित गर्दै आन्दोलनमा जाने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न, शिक्षामा लगानी बढाउन तथा विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग रहेको बताए।

महासंघले बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकको तलब वृद्धि, प्रोत्साहन भत्ता तथा महँगी भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।

यस्तै, राहत, साविक उच्च माध्यमिक विद्यालयका अस्थायीरकरार शिक्षक, बालकक्षा, सिकाइ अनुदान, विशेष शिक्षा तथा प्राविधिक धारका अस्थायी शिक्षकहरूको पेसागत सुरक्षा र स्थायित्व सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारिएको छ।

आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार भने परिषद्ले विस्तारित कार्यदल बैठकलाई दिएको महासंघले जनाएको छ।