काठमाडौं - उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु परिवर्तनको सिधा असर देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको बताएका हुन्।

उनले भने ‘जलवायु परिवर्तनको सिधा असर वनस्पती, वन्यजन्तु, जैविक विविधता, ताल तलैया, पोखरी तथा नदीमा परेको छ। खाध्य सुरक्षा र पानीको अभावमा आफ्नो थातथलो छोडेर बसाइँसराइ गर्नाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको छ।’ उनले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय एजेण्डा भएको बताए। जलवायु परिवर्तन हुनुमा विकशित राष्ट्रहरुको भूमिका बढी भए पनि त्यसको सबैभन्दा बढी असर नेपाल लगायतका मुलुकहरुमा परेको बताए।

उनले हरितगृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लन पुगेको र यो क्रम बढ्दो रहेकोले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मूख्य एजेण्डा बनाइएको बताए। उनले नेपालले पनि वातावरणको संरक्षणका लागि जथाभावी बाटो खन्ने डोजर संस्कृतिको नियमन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपायहरु खोज्नका लागि सगरमाथा संवाद स्थापना गरिएको बताए।

उनले अन्तर निकाय संस्थाहरु एउटै फोरममा बसेर विचार विमर्श गरी नयाँ सोंच र दृष्टिकोण निर्माण गर्न सगरमाथा संवादले सहयोग पुर्‍याउने विस समेत गरे। उनले जलवायु परिवर्तन न्यूनीकरणमा नेपाललको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने बताए।