काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् खपतमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेका छन्।
उनले उक्त निर्णयलाई सकारात्मक कदमको संज्ञा दिँदै अब विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याट पनि पुनरावलोकन गर्नुपर्ने बताएका हुन्।
घिसिङका अनुसार ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्तामाथि लगाइएको भ्याटले स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोग बढाउने सरकारी लक्ष्यमा नकारात्मक असर पार्न सक्छ। स्वदेशी जलविद्युत् तथा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गरी आयातित इन्धनमाथिको निर्भरता घटाउने नीतिसँग विद्युत्मा अतिरिक्त कर लगाउने व्यवस्था मेल नखाने उनको तर्क छ।
उनले समता शुल्क हटाउने सरकारी घोषणालाई कानुनी प्रक्रिया पूरा गरी औपचारिक रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै विद्युत् खपतमा लगाइएको ५ प्रतिशत भ्याटसमेत हटाउन सरकारसँग माग गरेका छन्।
साथै, सरकारी घोषणा व्यवहारमा कार्यान्वयन हुने गरी आवश्यक कानुनी प्रक्रिया शीघ्र अघि बढाउन पनि उनले आग्रह गरेका छन्।

.gif)



