काठमाडौं - बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउने भएका छन्।
एमाले बागमती प्रदेश संसदीय दलले केन्द्रको निर्देशनअनुसार सरकारबाट बाहिरिने निर्णय गरेसँगै ६ जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिन लागेका हुन्।
साथै, एमालेले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ।
कांग्रेसले सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि केन्द्रको निर्देशनअनुसार एमालेले सरकार छाड्ने निर्णय गरेको हो।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकिएको जानकारी दिए।
उनका अनुसार राजीनामा प्रत्यक्ष रूपमा मुख्यमन्त्रीलाई बुझाउने वा इमेलमार्फत पठाउने भन्ने विषयमा संसदीय दलले अन्तिम तयारी गरिरहेको छ।
हाल मुख्यमन्त्री बानियाँ नेतृत्वको बागमती सरकारमा एमालेका ६ जना मन्त्री छन्।
जसमा कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा रहेका छन् भने विना विभागीय तर्फ किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी मन्त्री रहेका छन् ।
प्रदेश सरकारले हालै १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गरेपछि एमालेका तीन जना मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् भने तीन जना बिनाविभागीय मन्त्रीका रूपमा रहेका छन्।
उनीहरूको राजीनामासँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आउने देखिएको छ।

.gif)



