काठमाडौं - परीक्षा शुरु हुनु अघिल्लो दिन स्थगित भएको एसईई परिक्षा ‘लकडाउन’ खुलेको बढीमा दुई साता भित्र हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्ड अन्तरगतको सुरक्षा समितिको केही दिन अघि बसेको वैठकले देशभर पठाइएका प्रश्नपत्रहरू सुरक्षित रहेको निष्कर्ष निकाल्दै ‘लकडाउन’ खुलेको एकदेखि दुई साता भित्र परिक्षा गर्ने निर्णय गरेको हो । परिक्षाको मिति भने ‘लकडाउन’ खुले लगत्तै सार्वजनिक गरिने भएको छ ।

पूर्वनिर्धारित मितिको अघिल्लो दिन सरकारले अर्को सूचना जारी नभएसम्मका लागि एसईई परीक्षा स्थगित गरेको थियो । अन्तिम अवस्थामा गरिएको त्यस्तो निर्णयका कारण कतिपयले प्रश्नपत्रको सुरक्षाबारे चासो व्यक्त गर्दै आएका छन् । तर राष्ट्रिय परिक्षा वोर्डले सबै प्रश्न पत्रहरु सुरक्षित रहेको बताउंदै तिनै प्रश्न पत्रको आधारमा परिक्षा हुने जानकारी दिएको छ ।

ती प्रश्नपत्रहरू अब कम्तीमा प्रहरी निरीक्षकको कमाण्ड हुने इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालमा प्रहरी र केन्द्राध्यक्षको गरी दुईवटा ताला लगाइएको छ । यसपटक एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए ।