काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो।

डीआरएस प्रयोगमा आएसँगै एनपीएलमा अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्न सकिनेछ। क्रिकेटमा प्रचलित यो प्रविधिले खेलका विवादित निर्णयमा निष्पक्षता बढाउन र अम्पायरको निर्णयलाई प्रविधिमार्फत जाँच गर्न सहयोग गर्छ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्लू (लेग बिफोर विकेट) को रिभ्यूका लागि पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ। यसका साथै रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि रिभ्यू गर्न सकिनेछ।

प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ब्याट एज डिटेक्सन प्रविधिसमेत उपलब्ध हुनेछ। यसले बल ब्याटमा लागेको वा नलागेको पहिचान गर्न सहयोग गर्नेछ।

त्यस्तै, हाइटसम्बन्धी वाइड बलको विश्लेषण, छक्काको दूरी र उचाइ मापन तथा अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुने क्यानले जनाएको छ।