पुरानो गायिकाको नाम उल्लेख नहुनु दुःखद : अन्जु पन्त
काठमाडौं - चर्चित गजल ‘न बिर्से तिमीलाई’को नयाँ भर्सन रचना रिमालको स्वरमा सार्वजनिक भएसँगै यसबारे चर्चा चलिरहेको छ । गीतबारे गायिका रिमाल र गीतकार विपिन किरणप्रति विभिन्न टिप्पणी भइरहेको समयमा गजलको पुरानो भर्सनकी गायिका अन्जु पन्तले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन् ।
बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ भर्सनमा पुरानो गायिकाको नामसमेत उल्लेख नहुनु दुःखद् भएको बताएकी छन् । उनले लेखेकी छन्,‘आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन ।’
यस्तै गीतकार किरण र आफूबीच नयाँ भर्सन बाल गायकलाई दिने नभई कभर गीत गाउन दिने कुरा भएको समेत उनले बताएकी छन् । ‘आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायक गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन,’ उनले लेखेकी छन्, ‘केही समयअघि विपिन किरण भाइले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रिरेकर्ड गर्ने भन्नु भएको थियो र सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो र हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौं।
यसै क्रममा उनले कभरको रुपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरुलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुशीसाथ हुन्छ भनेकी थिएँ ।’ गीत नयाँ भर्सनमा ल्याउँदा ‘ओरिजिनल’ गायक गायिकाको नामसमेत उल्लेख नगरी अफिसियल सार्वजनिक हुनु अन्यायपूर्ण भएकोसमेत उनले बताएकी छन् ।
फेसबुक पेज Like गर्नुहोस