नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० रद्द गर्नुलाई जम्मु कश्मीरमा नयाँ युगको शुरूवात भएको बताएका छन् । उनले पछिल्लो ३ दशकमा करीब ४५ हजार निर्दोष मानिसको ज्यान गएको बताए । उनले जम्मु कश्मीरमा छिट्टै चुनाव हुने घोषणा पनि गरे ।

पाकिस्तानले भारतसँगको सबै सम्बन्ध तोडेको घोषणा गरेलगत्तै मोदीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । भारतले जम्मू–कश्मीरबाट विशेष अधिकार हटाउँदै राज्यलाई २ भागमा बाँडेको छ । पाकिस्तानले भने यो निर्णयलाई भारतको अवैधानिक कदम बताएको छ ।

मोदीले आर्टिकल ३७० र ३५‘ए’ ले जम्मू–कश्मीरमा आतंकवाद, परिवारवाद र भ्रष्टाचार मौलाएको बताए । उनले देशको कानूनबाट जम्मू–कश्मीरका मानिस वञ्चित रहेको बताए । उनले शिक्षाको अधिकारको लाभ लिनबाट जम्मू–कश्मीरका बालबालिका वञ्चित भएको बताए ।

‘देशका अन्य राज्यमा कर्मचारीका लागि छुट्टै ऐन लागू छ तर यस क्षेत्रका कर्मचारी यो अधिकारबाट वञ्चित गरिएको थियो । देशको अन्य राज्यमा दलितविरुद्ध हुने अन्याय रोक्नका लागि कानून लागू छ तर जम्मू काश्मीरमा यस्तो कानून लागु हुँदैनथ्यो,’ उनले भने, ‘अब जम्मू–कश्मीर नयाँ ऊर्जाका साथ विकास हुनेछ । टेक्निकल क्षेत्रको विकास हुनेछ । यहाँको पर्यटकीय क्षेत्रको विकास हुनेछ ।’

संसद्मा बनेका कानून देशको एक भागमा लागू नहुनु दुःखद् विषय भएको बताए । ‘सरकार पटेल, बाबा साहेव अम्बेडकर, डा। श्यामप्रसाद मुखर्जी, अटलजी र करोडांै देशभक्तको सपना पूरा भएको छ । अब देशको सबै नागरिकको हक र दायित्व समान छ,’ उनले भने, ‘एक राट्र, एक परिवारका रूपमा तपाईं हामीले पूरै देशले एउटा ऐतिहासिक निर्णय गरेका छौं । अब यस क्षेत्रका नागरिकले अधिकार र अवसर पाउनेछन् ।’

‘म एउटा कुरा स्पष्ट पार्न चाहान्छु तपाईंहरू आफ्नो जनप्रतिनिधि आफंै चुन्न सक्नुहुन्छ र तपाईंहरूमध्येबाट चुनिनुहुनेछ । यो अधिकार छिट्टै प्राप्त गर्नुहुनेछ,’ उनले जम्मु काश्मीरका जनतालाई सम्बोधन गर्दै भने, ‘यहाँ लोकसभा चुनावमा भोट हाल्ने अधिकार थियो तर विधानसभा र स्थानीय तहको चुनावमा मतदान गर्न सक्दैनथे । अब यो अधिकार प्राप्त भएको छ ।’

राजधानी दैनिकबाट