काठमाडौं - नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानको बाँकी बक्यौता भुक्तानी गर्न सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बीपी नगरमा जारी केन्द्रीय कार्यसमिति बैठकले उखु किसानका समस्या तत्काल सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

कांग्रेसले उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनताप्रति असन्तुष्टि जनाउँदै बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा बढेको चिन्ता सम्बोधन गर्न माग गरेको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘उखुको मूल्य निर्धारणमा सरकारले देखाएको उदासीनतालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखा परेको चिन्तालाई तत्काल सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।’