काठमाडौं - काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका सुकुमवासीलाई सरकारले शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ ।

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना टाँस्दै होल्डिङ सेन्टर खाली गर्न भनेको हो ।

प्रशासनका अनुसार त्यहाँ बसिरहेका सात परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको छ । भूमि सम्बन्धी ऐन, २०२१ अनुसार उनीहरू भूमिहीन नरहने भन्दै होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, जग्गा नभएका १२ परिवारका लागि सम्बन्धित पालिकाबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको र त्यसको निस्सा प्राप्त भएको प्रशासनले जनाएको छ । उनीहरूलाई पनि होल्डिङ सेन्टर छाड्न र सरकारले उपलब्ध गराएको घरभाडा सुविधा बुझिलिन सूचनामा भनिएको छ ।

प्रशासनले जग्गा भएका र जग्गा खोजिएका सबै परिवारलाई भदौ ११ गते दिउँसो ४ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न समय दिएको छ ।

उक्त होल्डिङ सेन्टरमा हाल ५९ जना बसिरहेका छन् । तर, त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरूले भने सरकारको सूचना नमान्ने बताएका छन् ।