काठमाडौं - कोभिड भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थपिने भएको छ ।

काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सोमबार बिहान बस्ने संयुक्त बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने बताइएको छ । थप खुकुलोसहित एक हप्ता निषेधाज्ञा थप्ने आइतबार बसेको बैठकले निष्कर्ष निकालेको भए पनि त्यसमा के कस्ता मापदण्डहरु कायम गर्ने भन्नेबारेमा आज बस्ने बैठकले निर्णय गर्ने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए । 

काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । अहिले समय तोकेर किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषीजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेसनरी पसलहरु खोल्न दिइएको छ । निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन दिइएको छ तर, सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । 

अब उपत्यकामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात पनि चलाउन दिने तयारी गरिएको छ  । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ ।