काठमाडौं एजेन्सी - भारतकै सर्वाधिक महँगो मानिएको चलचित्र ‘आरआरआर’ प्रदर्शन मिति अनिश्चित भएको छ । जनवरी ७ मा प्रदर्शनमा आउने भनिए पनि कोरोना संक्रमणको जोखिम बढेसँगै हाललाई स्थगित गरिएको निर्माण पक्षले जनाएको छ । जोखिम बढेपछि यसको प्रदर्शन कहिले हुन्छ भन्ने यकिन छैन ।

एसएस राजामौलीको बहुप्रतिक्षित यो चलचित्र साढे चार सय करोड भारूमा बनेको बताइएको छ । साथै चलचित्रका कलाकारको पारिश्रमिक पनि कम महँगो छैन । आरआरआरमा मुख्य भूमिका निर्वाह गरेका दक्षिण भारतीय अभिनेताद्वय रामचरण र एनटिआरले ४५ करोड भारू जति पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तैपनि अभिनेताद्वय र निर्देशकले यसबारेमा केही बोलेका छैनन् । चलचित्रमा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टको समेत भूमिका छ ।

भारतीय सञ्चार माध्यमका अनुसार चलचित्रमा अभिनेता अजयको ८ मिनेट र अभिनेत्री आलियाको भूमिका २० मिनेटभन्दा कम छ । अजयले आफ्नो भूमिकाका लागि आरआरआर टोलीलाई जम्मा ७ सात दिनको समय दिएका थिए । यति थोरै समय र भूमिका भए पनि यी दुई कलाकारले एकदमै धेरै पारिश्रमिक लिएको बलिउड हंगामाले लेखेको छ । हंगामाका अनुसार आलियाले यो चलचित्रमा छोटो भूमिकाका लागि बलिउडमा सिँगै चलचित्र खेले बराबरको पारिश्रमिक पाएकी छन् । उनले आरआरआरबाट ९ करोड भारू पारिश्रमिक लिएकी छन् ।

चलचित्रमा सीताको भूमिकामा आलिया देखिएकी छन् । यस्तै, हंगामाले अभिनेता अजयले त अझै धेरै पारिश्रमिक पाएको लेखेको छ । उनले यो चलचित्रलाई सात दिन खर्चिंदा ३५ करोड भारू पारिश्रमिक लिएको जनाइएको छ । अजय र आलियालाई यति धेरै पैसा दिएकोबारे आरआरआर निर्माण टोलीका एक सदस्यको भनाइ उद्धृत गर्दै हंगामाले लेखेको छ, ‘अजय र आलिया बलिउड र उत्तरी भारतबाट दर्शक तान्ने कलाकार हुन् ।

दक्षिण भारतीय फिल्मका लागि यी कलाकार राख्नु फाइदा हुन्छ । बाहुबली जस्तो ऐतिहासिक फिल्मका निर्देशक एसएस राजामौलीको फिल्म भन्नु पनि कम प्रचार हुन्थेन, तर यो काफी हुन्थेन होला ।’ दुईवटा फरक समयको कथा प्रस्तुत गर्ने यो सिनेमामा रामचरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा छन् । उनीहरूसँगै आलिया भट्ट, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी, रे स्टेभन्सन लगायतको अभिनय छ ।