जाजरकोट - अन्तरजातीय प्रेमका कारण रुकुम पश्चिमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता युवालाई खोज्न गोताखोरको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलका असई रमेश थापाको नेतृत्वमा ८ जना गोताखोरको सहयोगमा खोजी सुरु गरिएको छ । यसअघि स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरुले खोजे पनि भेट्न नसकेपछि गोताखोर बोलाइएको हो ।

शनिबार भएको घटनामा ३ जनाको शव नदी किनारमा भेटिएको छ भने तीनजना बेपत्ता छन् । प्रहरीका अनुसार भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं। ४ का सन्दीप विक बेपत्ता छन् ।

भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । पीडित परिवारले वडाध्यक्ष मल्लसहित २० जनाविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता गराएका छन् ।

घटना के थियो ?

जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँनिवासी २१ वर्षीय नवराज विक प्रेमिकासँग बिहे गर्न १९ जना साथीसहित शनिबार अपराह्न करिब ५ बजे रुकुमको चौरजहारी पुगेका थिए । तर, स्थानीयले संगठित आक्रमण गरेपछि भाग्दाभाग्दै उनीहरू नदीमा हामफालेका ६ जना बेपत्ता भएका थिए ।

जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँनिवासी नवराज विक एथलेटिक्सका प्रतिभावान् खेलाडी थिए । कक्षा १२ उत्तीर्ण गरेका उनी खेल खेल्नकै लागि मेला–महोत्सवमा वारि–पारि कुदिरहन्थे । त्यही क्रममा रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीकी एक युवतीसँग तीन वर्षअघि चिनजान भयो । उनीहरूबीच प्रेम सम्बन्ध सुरु भयो।

खेलकै क्रममा रुकुम पुग्दा नवराजले लुकिछिपी प्रेमिकालाई पनि भेट्थे । प्रेमिका पनि नवराजको घर आउने गर्थिन् । दलित युवासँग प्रेम सम्बन्ध छुटाउन आफन्तले निकै प्रयास गरे । योबीचमा अभिभावकले छोरीलाई कुटपिट पनि गरेका थिए । तर, उनीहरू एक–अर्कालाई छाड्न तयार भएनन्।

प्रेमिकालाई लिन केही महिनाअघि पनि नवराज साथीहरू लिएर सोती पुगेका थिए । त्यतिवेला प्रहरीले हस्तक्षेप गरेको थियो । तर, दलितसँग प्रेम गरेको भनेर आफूमाथि परिवारबाटै अवहेलना भएको भन्दै प्रेमिकाले नवराजलाई सन्देश पठाएकी थिइन् ।

१८ जना साथीसहित भेरी तरेर नवराज शनिबार अपराह्न सोती पुगेका थिए । नवराजले छोरी लग्न थालेको थाहा पाएपछि प्रेमिकाकी आमाले गाउँमा हारगुहार गरिन् । प्रेमिकासम्म पुग्न नपाउँदै नवराजको समूह गाउँलेबाट घेरिएको थियो।

लगत्तै हातमा लाठी तथा घरेलु हतियार बोकेका गाउँलेले ढुंगाले हान्न थालेपछि उनीहरु भागे । उनीहरु जति भागे पनि गाउँलेहरू पछिपछि आइरहे । झण्डै चार किलोमिटर ठुलो भेरीको बगरैबगर भागे अन्त्यमा ज्यान बचाउन आत्तिएर खोलामा हामफाले।

सोती पुगेका १८ जनामध्ये ११ जना खोलामा हामफालेका थिए । पाँच जना सकुशल नदी तरे भने ६ जना खोलामै हराए । जसमा ती नवराजसहित तीन जनाको शव भेटिएको छ भने अर्का तीन बेपत्ता छन् ।नवराजको शव शनिबार राति १० बजे भेरी किनारमा भेटिएको थियो।