काठमाडौँ - देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।