काठमाडौं - विश्वकै ठूलो फेस्टिबलमध्येको एक कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड बाजी मार्न सफल भएको छ । ७५ औँ फेस्टिबल दे कान्समा लघु चलचित्र विधामा नेपाली चलचित्र लोरीले अवार्ड जितेको छ ।

अविनाश विक्रम शाह निर्देशित नेपाली लघु चलचित्र ‘लोरी’ ले ‘द स्पेशल मेन्सन अवार्ड इन सर्ट फिल्म’ अवार्ड हात पारेका हो । फेस्टिभल डे कान्समा पहिलो पटक मुख्य प्रतिस्पर्धाको विधामा नेपाली चलचित्र प्रदर्शन गरिएको हो ।

स्क्रिप्ट लेखनसमेत सिकाउने शाहसँग फिल्म निर्माण क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव छ, जसमा मिन बहादुर भामको ‘कालो पोथी’, दीपक रौनियारको  ‘हाइवे’ र ‘टाटिनी’ लगायतका फिल्मले समीक्षकहरूको प्रशंसा पाएका छन् । उनका चलचित्र यसअघि प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रिमियर भइसकेका छन् ।

‘चौकठ’ जस्ता केही नेपाली चलचित्रले विगतका संस्करणहरूमा कान्स फेस्टिभलको स्क्रिनिङ एण्ड एक्जिबिसन’ विधामा स्थान बनाए पनि मुख्य प्रतिस्पर्धाको विधामा शाहको ‘लोरी स् मेलान्कोली अफ माई मदर्स लुलेबिज’ देशकै पहिलो चलचित्र हो ।