काठमाडौं – नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राममुनिका साना जहाज ‘चुनौती’ देखिएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको १० वर्षे प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ । हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन (ईयू) ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ ।

प्रतिवेदनअनुसार १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ । यस अवधिमा १० वटा हेलिकप्टर दुर्घटना भएका र त्यसमा पर्यटनमन्त्रीसहित ३० जनाको ज्यान गएको थियो । नेपालमा दुर्गम तथा पहाडी भेगका लागि चार एयरलाइन्स र १० वटा हेलिकप्टर कम्पनी छन् ।

दुर्गममा नियमित उडानको तुलनामा हेलिकप्टर चार्टर उडान बढिरहेको महानिर्देशक पोखरेलको भनाइ छ । ‘नेपालमा दर्ता भएका ५७ सय किलो हाराहारी तौल वा त्योभन्दा कम तौलका जहाज र हेलिकप्टरको दुर्घटना दर बढी छ,’ उनले भने ।

पछिल्लो पटक ईयूको चासो हेलिकप्टरतर्फ मोडिएको छ । हेलिकप्टरले नियमित उडान नगर्ने भएकाले यसमा उसको चासो आवश्यक नरहेको भन्दै त्यसमा आपत्ति जनाउँदै प्राधिकरणले पत्र लेखेको पोखरेलले बताए । 

कान्तिपुर दैनिकबाट