अमेरिकन आइडलमा नेपाली दिवेश पोखरेलले गाउँदा रोए जज
काठमाडौं - चर्चित सांगीतिक रियालिटी सो ‘अमेरिकन आइडल’ मा छानिएका नेपाली युवा दिवेश पोखरेल उर्फ (आर्थर गन) ले पुनः अत्यान्तै राम्रो प्रस्तुति दिएका छन् । १८ औं संस्करणको टप २० मा परेका उनले ‘सोलो राउन्ड’ मा उनले अडिशन राउन्डमै प्रस्तुत गरेको सीसीआरको ‘ह्याभ यु एभर सिन द रेन’ गाए तर, निकै भिन्न शैलीमा ।
यस पटक पनि उनको प्रस्तुतिमा निर्णायकहरू गायिका केटी पेरी, लुका ब्रायन र लियोनल रिची प्रभावित भएका थिए । यसअघिको प्रस्तुतिमा निर्णायक रिचीले केटीलाई दिवेशको स्वरले आफूलाई गायक बब मार्लीको स्मरण गराएको बताएका थिए । उनै रिची यसपटक भावुक हुदै आँशु पुछे ।
आर्थरले यस पटक ब्याण्डसँगै गिटार बजाएर प्रस्तुति दिने तयारी भएको थियो । ब्याण्डसँग तयारी पनि गरे । यसको लागि उनलाई आइडलको भोकल कोचले पनि सघाए । तर, प्रस्तुति दिने केही समयअघि ब्याण्डसँग प्रस्तुति दिन नसकिने अवस्थामा पुग्यो । उनको नयाँ कम्जोजिसनमा ब्याण्डसँगको तलमेल मिलेन अनि आर्थर आफैंले गिटारमात्र बजार प्रस्तुति दिने निर्णय भयो । उनले ओरिजिनल गीतलाई आफ्नै स्केलमा गाए जुन नितान्तै भिन्न थियो ।
उनले सीसीआरको गीतलाई विल्कुलै नयाँ तरिकाले प्रस्तुत गरे । उनले गाइरहँदा जजहरु मन्त्रमुग्ध भएर सुनिरहेका थिए । जब प्रस्तुति सकियो सबै जजहरुले उठेर ताली बजाए । अनि रिची भने आँशु पुछ्न थाले ।
प्रस्तुतिपछि आर्थरले भने ‘मलाई लाग्छ यो निकै राम्रो भयो । यो मेरो लागि निकै प्रयोगात्मक थियो । यसले मलाई सन्तुष्टि दिएको छ । मलाई गर्व छ मैले यो गरेर देखाएँ ।'
आर्थरले सन् २०१८ मा आठ वटा गीतसहित ‘ग्रहण’ नामक एल्बम निकालेका थिए । सात वर्षअघिदेखि सांगीतिक यात्रा सुरु गरेका उनी जोन मार्टिन, निक ड्र्याक, बब डिलन, बुक्का व्हाइट, रोबर्ट जोनसन, हाउलिन उल्फ र जोन लि हूकरको गीतहरूबाट प्रभावित छन्। उनको औपचारिक युट्युब च्यानलमा ‘म’, ‘खोज’ र ‘कर्णाली’ लगायत गीतहरू राखिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस