काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले गार्हस्थ्य उपभोक्ता र उत्पादनमूलक उद्योगलाई राहत दिने गरी विद्युत् महसुल पुनरावलोकन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।

विद्युत् खपत बढाउने, वर्षायाममा खेर जाने विद्युत्को अधिकतम उपयोग गर्ने तथा उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने लक्ष्यसहित नयाँ महसुल संरचना तयार पार्ने तयारी गरिएको हो।

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् महसुल पुनरावलोकनका लागि विशेष समिति गठन गर्ने निर्णय गरेको छ।

समितिलाई हालको महसुल दरको विस्तृत अध्ययन गरी उपभोक्तामैत्री तथा उत्पादनमुखी नयाँ संरचनासहितको सिफारिस १५ दिनभित्र पेश गर्ने जिम्मेवारी दिइएको छ।

प्राधिकरणका अनुसार मुलुकमा विद्युत् उत्पादन निरन्तर बढ्दै गएको, वर्षायाममा अतिरिक्त विद्युत् खेर जाने अवस्था सिर्जना भएको तथा आन्तरिक खपत विस्तार गर्नु आवश्यक भएकाले महसुल पुनरावलोकनलाई उच्च प्राथमिकतामा राखिएको हो।

अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, ऊर्जा विज्ञ, उपभोक्ता प्रतिनिधि, वित्त विज्ञ तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहनेछन्।

समितिले विशेषगरी गार्हस्थ्य उपभोक्तालाई थप राहत पुग्ने, विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने तथा उद्योगहरूको उत्पादन लागत घटाउन सहयोग पुग्ने गरी नयाँ महसुल संरचना प्रस्ताव गर्ने अपेक्षा गरिएको छ। यससँगै आगामी दिनमा विद्युत् शुल्क घट्ने सम्भावना बलियो बनेको छ।

यसैगरी, सञ्चालक समितिले प्राधिकरणका विगतका खरिद प्रक्रिया तथा सञ्चालन परियोजनासम्बन्धी प्राप्त उजुरी र गुनासोको अध्ययन तथा छानबिन गर्न अर्को उच्चस्तरीय समिति पनि गठन गरेको छ।