एजेन्सी - भारतीय टेलिभिजनको लोकप्रिय गेम शो कौन बनेगा करोडपतिको ११औं सीजन चार दिनपछि बन्द हुँदैछ ।

शो शुरू हुनुअघि नै शोका सबै योजना आधिकारिक रूपमा घोषणा गरिसकिएको थियो । केबीसीका होस्ट अमिताभ बच्चनले यसपालि केबीसी १३ हप्ता मात्र चल्ने र सीजनमा कुल ६५ एपिसोड हुने बताएका थिए । 

यसपालि शोमा हप्ताको चार दिन प्रतियोगीहरूले आफ्नो प्रतिभा देखाए । शुक्रवारको दिन चाहिँ कर्मवीर एपिसोड राखियो । रियल लाइफ हिरोहरूले त्यसमा प्रश्नको जवाफ दिए । 

यसपालि केबीसीमा सात करोड भारु पुरस्कार राखिएको थियो । त्यसका लागि प्रतियोगीहरूले १६ प्रश्नको सही उत्तर दिनुपर्ने हुन्थ्यो । तर अहिलेसम्म कुनै पनि प्रतियोगीले सात करोड जित्न सकेको छैन । 

चार प्रतियोगीले भने एक करोड भारु जितेका छन् । केबीसीको यस सीजनको अन्तिम एपिसोड शुक्रवार प्रसारण गरिनेछ । त्यो नै फिनाले एपिसोड हो ।यस सीजनको टीआरपी चार्टमा केबीसी सधैं शीर्ष १० मा रहन सफल रह्यो । 

शोका होस्ट अमिताभ बच्चन केही दिनअघि स्वास्थ्य खराब भएपछि अस्पताल भर्ना भएका थिए । उनको खराब स्वास्थ्यका कारण शो छिट्टै बन्द हुन लागेको खबर आएको थियो । तर शोको आरम्भमै बच्चनले शोको अन्तिम एपिसोडको डिटेल पनि दिएका थिए ।