‘आरआरआर’ काे कमाइमा नयाँ रेकर्ड कायम
काठमाडौं,एजेन्सी - दक्षिण भारतीय चलचित्र निर्देशक एसएस राजमौलीले निर्देशन गरेको चलचित्र ‘आरआरआर’ ले प्रदर्शनको पहिलो दिनको कमाइमा नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले हालसम्म बनेका विभिन्न रेडर्कलाई तोडेको छ । तमिल, तेलगुसँगै हिन्दी लगायतका विभिन्न भाषामा प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिनको प्रदर्शनबाट विश्वभरबाट २२७ करोड भारतीय रुपैयाँ (३ अर्ब ६३ करोेड ५९ लाख नेपाली रुपैयाँभन्दा धेरै) आम्दानी गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार ‘आरआरआर’ ले शुक्रबारको प्रदर्शनबाट भारतको आन्ध्रप्रदेश र अन्य तमिल राज्यमा मात्रै १२० करोड भारतीय रुपैयाँ (१ अर्ब ९२ करोड २० लाख नेपाली रुपैयाँभन्दा धेरै) को व्यापार गरेको छ ।
यसैगरी, भारत बाहिरको प्रदर्शनबाट चलचित्रले करोडौंको आम्दानी गरेको छ । अन्य देशको प्रदर्शनबाट ७८ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । यस्तै, भारतमा चलचित्रको हिन्दी भर्जनले २५ करोड भारतीय रुपैयाँभन्दा बढी आम्दानी गरेको जनाइएको छ । भारतको कर्नाटक क्षेत्रमा यसले १६.४८ करोड, तमिलनाडु क्षेत्रमा १२.७३ करोड र केरला क्षेत्रमा ४.३६ करोडको व्यापार गरेको छ ।
करिब ५५० करोडको बजेटमा बनेको ‘आरआरआर’ लामो समयदेखि दर्शकले प्रतिक्षा गरिरहेका थिए । यो चलचित्रमा दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर र रामचरणका साथ बलिउड अभिनेता अजय देवगण र अभिनेत्री आलिया भट्ट प्रमुख भूमिका छ । यो चलचित्रमा सन् १९२० को दशकमा भारतको स्वतन्त्रताका लागि लडेका क्रान्तिकारीको कथालाई उधिनिएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको यस चलचित्रले राजमौलीले यसअघि बनाएको चलचित्र ‘बाहुबली’ ले बनाएको रेकर्ड ७५ करोड भारतीय रुपैयाँ र ‘बाहुबली २’ ले पहिलो दिन बनाएको २१७ करोड भरातीय रुपैयाँको रेकर्डलाई उछिनेको छ । योसँगै विश्वभर नै प्रदर्शनको पहिलो दिनमै सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ ।
फेसबुक पेज Like गर्नुहोस