काठमाडौं,दाङ - जिल्लाका विद्यार्थी नेता टोपबहादुर बुढाथोकी नेपाल विद्यार्थी संघको उपाध्यक्ष बनेको ७ वर्ष पुग्नै थाल्यो। कांग्रेसको विधानअनुसार उनी चुनिएको दुई वर्षमै उनको कार्यकाल सकिनुपर्थ्यो।
तर नेवि संघको जिल्ला अधिवेशन नहुँदा उनी ७ वर्षसम्म नेवि संघको उपाध्यक्षमै सीमित बन्न पुगे। नेवि संघमा रहेर थप राजनीति गर्नका लागि उनलाई उमेर हदबन्दीले अब दिन्न । ३२ वर्ष उमेर समूहका मात्रै नेवि संघको राजनीतिमा रहन पाउने कांग्रेसको विधानअनुसार अब उनी स्वतः बिदा हुनुपर्छ।
सात वर्षसम्म नेविसंघको उपाध्यक्षमा रहेर जिम्मेवारी बहन गरेका बुढाथोकीको राजनीति अब पार्टीतर्फ सोझिएको छ। पार्टीको महाधिवेशनको मुखैमा वडा तहमा सक्रिय बुढाथोकी क्षेत्रीय प्रतिनिधिका लागि माहोल निर्माण गरिरहेका छन्। अब उनले कांग्रेसको जिल्ला सदस्य पदको आकांक्षा राखेका छन्। ‘झण्डै सात वर्षसम्म रहेर नेवि संघको उपाध्यक्षको जिम्मेवारी लिएँ, अब मलाई नेवि संघको राजनीति गर्न उमेर हदबन्दीले पनि दिन्न,’ उनले भने,‘अब वडाबाट क्षेत्रीय प्रतिनिधि चुनिएर कांग्रेसको जिल्ला सदस्य बन्ने लक्ष्यमा उत्रिएको छु।’
कांग्रेसको युवा संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती पनि पार्टीको क्षेत्रीय राजनीति गर्ने योजनामा छन्। लामो समयसम्मको तरुण दलको अध्यक्षको जिम्मेवारीपश्चात उनको आगामी यात्रा पनि स्वाभाविकै रूपमा अब पार्टी राजनीति नै हो। उनले भने, ‘क्षेत्रीय सभापतिका लागि तयारी गरिरहेको छु, तर सबै साथी, अग्रजहरूसँगको सल्लाहबमोजिम क्षेत्रीय सभापतिमा लड्ने या नलड्ने भन्ने निर्णयमा पुग्नेछु ।’ उनको पनि क्षेत्रीय प्रतिनिधि चुनिने एक मात्रै योजना छ।
मिति तय भैइकेको कांग्रेसको १४औँ महाधिवेशनले जिल्लाका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ।
नागरिक दैनिकबाट

.gif)


