काठमाडौं - खाडी देशमा रोजगारीका लागि जानेले कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने भएको छ ।  

खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेका हुन् । योसँगै सरकारलाई खाडी जाने नेपाली श्रमिकहरुलाई खोपको व्यवस्था गर्नुपर्ने चुनौती थपिएको छ ।  असार ९ गते जारी खोपसम्बन्धी अर्को सूचनाले नेपालीको खाडीमा रोजगारी थप अन्योलमा परेको हो ।

कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश पाइन्छ । यी खोप नेपालमा अभाव रहेको छ ।

यता कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । नयाँ भिसा पनि जारी गरेको छैन । आउँदो साउन १७ देखि भने खोप लगाइसकेको कामदार भने आउन पाउने सूचना जारी गरेको छ । 

कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनलाई अनुमोदन दिएको छ । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने जनाएको छ ।

अर्को खाडी मुलुक साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान ल्याएको छ ।