काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफ्ना अन्य प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री अधिकार निजी कम्पनीलाई ठेक्कामा दिने भएको छ । यसका लागि क्यानले आगामी दुई वर्षका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ ।
क्यानले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य कम्पनीलाई सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको हो । एनपीएलबाहेकका क्यानका प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्री गर्ने विशेष अधिकार दुई वर्षका लागि ठेक्कामा दिन लागिएको हो ।
इच्छुक कम्पनीले क्यानको मूलपानीस्थित कार्यालय वा आधिकारिक वेबसाइटबाट बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन् । त्यसका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ, जुन फिर्ता नहुने क्यानले जनाएको छ । बोलपत्र कागजात प्राप्त गर्ने अन्तिम मिति नोभेम्बर ३० तोकिएको छ ।
बोलपत्रदाताले डिसेम्बर १ तारिख दिउँसो १२ बजेसम्म क्यानको मूलपानीस्थित कार्यालयमा सिलबन्दी प्रस्ताव बुझाइसक्नुपर्नेछ । प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ ।
बोलपत्र पेस गर्ने कम्पनीले न्यूनतम १४ लाख रुपैयाँ धरौटी (बिड सेक्युरिटी) राख्नुपर्ने व्यवस्था गरिएको छ । बोलपत्र खोलिएको मितिदेखि प्रस्ताव ९० दिनसम्म मान्य रहनेछ भने धरौटीको अवधि प्रस्तावको मान्य अवधि समाप्त भएको थप ३० दिनसम्म कायम हुनुपर्नेछ ।
टिकट बिक्री अधिकार प्राप्त गर्न इच्छुक कम्पनीले तोकिएको मापदण्ड र प्रक्रियाअनुसार बोलपत्र पेस गर्नुपर्नेछ । यससम्बन्धी थप जानकारी क्यानको कार्यालय तथा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

.gif)



