काठमाडौं - प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको प्रकरणमा सरकारमाथि निगरानी कस्दै सात दिनभित्र सबै सम्बन्धित कागजात बुझाउन निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकमा सभापति भरत खड्काले ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन् ।

खड्काले आवश्यक कागजात प्राप्त भएपछि ठेक्का रद्द गर्नुको कारण, निर्णय प्रक्रियाको औचित्य र त्यसबाट राज्यलाई पर्न सक्ने असरबारे थप अनुसन्धान तथा छलफल गरिने बताए ।

सुनकोशी–मरिण आयोजनाअन्तर्गत सिभिल, हाइड्रोमेकानिकल तथा अन्य सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का सबै प्रक्रिया पूरा भइसकेपछि अन्तिम समयमा रद्द गरिएको विषय विवादमा परेको छ । ठेक्का रद्द गर्ने निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको दाबीसहित सार्वजनिक लेखा समितिमा उजुरी परेपछि समितिले यस विषयमा छानबिन प्रक्रिया अघि बढाएको हो ।