काठमाडौं उपत्यकामा आजबाट सार्वजनिक यातायात सञ्चालन
काठमाडौं - काठमाडौं उपत्यकामा आजबाट जोर-बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन सञ्चालन भएका छन् ।
सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक सवारी साधन जोर–बिजोरका आधारमा चल्न पाउने निर्णय गरेसँगै मंगलबारबाट सवारी साधन सञ्चालन भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी निषेध आदेशअनुसार सार्वजनिक सवारी साधनहरू बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाउनेछन् । कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, सवारी साधनको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारी साधन दैनिक निःसङ्क्रमित गर्नुपर्ने व्यवस्था गरिएको छ ।
२५ सिट क्षमताभन्दा कमका साना सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् । उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर-बिजोर प्रणाली अनुसार नै सञ्चालनमा आइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस