काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष माधवकुमार नेपाल पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाएका छन्।

आफ्नो समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन् ।

‘माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन्। मलाई टिप्पणी नै गर्नु छैन ।,’ उनले भने,‘ उहाँ (माधव नेपाल) सधैँ उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो। उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ।’

ओलीले नेपालको क्यारिकेचरसमेत गरेका थिए। 'अपमान ! मान पाइनँ मैले !' माधव नेपालमाथि टिप्पणी नगर्ने भन्दै उनले भने,'उहाँको के टिप्पणी गर्नु उहाँ प्रचण्डको कार्यकर्ता हुन जानुभयो कार्यकर्ताको के टिप्पणी गर्नू ?’

एउटा खास परिस्थितिमा नेकपाले दुई अध्यक्ष बनाएको बताएका ओलीले माधव नेपाल पदलोलुप भएको बताए ।