काठमाडौं - सुनसरीमा हालै विकसित सुरक्षा अवस्थाप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

बुधबार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

भेटमा सुनसरीको पछिल्लो सुरक्षा अवस्था, सम्भावित चुनौती, संवेदनशील क्षेत्रको निगरानी तथा सुरक्षा रणनीतिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिएको थियो।

ब्रिफिङपछि प्रधानमन्त्री शाहले सुनसरीको परिस्थितिलाई तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव भड्काउने वा अशान्ति फैलाउने गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

उनले शान्ति–सुरक्षाको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै गृह मन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिएका छन्।