काठमाडौं-जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले जवाफी कारबाहीस्वरुप इरानका विभिन्न स्थानहरूमा ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। मध्यपूर्व केही समय केही शान्तजस्तो भएको दुई पक्षीय तनाव फेरि चर्किन पुगेको हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘निकै कडा’ प्रहार गर्ने धम्की दिएको केही घण्टाभित्रै अमेरिकी सेन्ट्रल कमाण्डले इरानभित्रका लक्ष्यहरूमा बमबारी सुरु गरेको हो। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानको आबादान, बन्दर अब्बास र बुसेहर प्रान्तमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। बुसेहर प्रान्तमा इरानको एक मात्र आणविक ऊर्जा केन्द्र रहेकाले उक्त क्षेत्रमा भएको विस्फोटलाई निकै गम्भीरताका साथ हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

यस्तै, क्युम टापुको आवासीय क्षेत्रमा पनि मिसाइल खसेको स्थानीयले बताएका छन्। खुजेस्तान प्रान्तको आबादानमा रहेका केही रणनीतिक स्थानहरूलाई अमेरिकी फौजले निशाना बनाएको जनाइएको छ।

यसै सैन्य तनावकाबीच अमेरिका र साउदी अरबले इराकस्थित इरान समर्थित ’पपुलर मोबिलाइजेसन फोर्सेस’माथि पनि संयुक्त हवाई आक्रमण गरेका छन्।  उक्त आक्रमणमा २० जना लडाकुको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। 

इराकले आफ्नो भूमिमा गरिएको यस आक्रमणलाई ‘सार्वभौमसत्ताको घोर उल्लंघन’ भन्दै कडा निन्दा गरेको छ। विरोधस्वरूप इराकी प्रधानमन्त्री अली अल–जैदीले आफ्नो पूर्वनिर्धारित साउदी अरब भ्रमणसमेत रद्द गरेका छन्।

विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’मा पनि तनाव उत्कर्षमा पुगेको छ। इरानी रिभोलुसनरी गार्डले आफ्नो अनुमतिबिना मार्ग प्रयोग गर्न खोजेका तीनवटा तेल ट्याङ्करहरूलाई निशाना बनाएको दाबी गरेको छ। 

यसैबीच राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट सञ्चारकर्मीहरूसँग कुरागर्दै इरानको पछिल्लो आक्रमणको जवाफ दिइएको स्पष्ट पारेका छन्।