काठमाडौं - नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितविहीन रूपमा टुंग्याएको छ।
बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भयो।
नेदरल्यान्ड्सको एभससी कोम्पोग क्रिकेट रंगशालामा २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमै सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो।
यसअघि पनि नेपालले नामिबियाविरुद्धका दुवै खेल र नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको थियो।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ३८ रन बनाए। कप्तान रोहित पौडेलले २६ रन जोड्दा करण केसीले २३ रनको योगदान दिए।
इशान पाण्डेले १६, अविजित रहेका हेमन्त धामीले १५, गुल्सन झाले ११ तथा भीम शार्कीले १० रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालको इनिङ धराशायी बनाउन नेदरल्यान्ड्सका काइल क्लेनले तीन विकेट लिए। लोगन भान बिक, रोइलोफ भान डेर मेर्वे र ज्याक लियोन च्याकेटले समान दुई–दुई विकेट लिए भने आर्यन डटले एक विकेट हात पारे।

.gif)



