हलिउड अभिनेता अर्नोल्ड र मारियाको सम्बन्धविच्छेद
काठमाडौं - हलिउड अभिनेता अर्नोल्ड स्वार्जेनेगर र अमेरिकी पत्रकार मारिया श्रीभरबीच सम्बन्धविच्छेद भएको छ । लसएन्जल्सको अदालतमा गएर उनीहरूले ३५ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका हुन् ।
सम्बन्धविच्छेदका लागि मारियाले निवेदन दिएको १० वर्षपछि कानुनी प्रक्रिया पूरा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीहरूबीच झण्डै ४० करोड अमेरिकी डलर बराबरको सम्पत्तिमा विवाद भएपछि अदालतले सम्बन्धविच्छेदको निर्णय गर्न १० वर्ष लगाएको जनाइएको छ ।
चार वर्षको प्रेमसम्बन्धपछि उनीहरूले सन् १९८६ मा बिहे गरेका थिए । चलचित्र ‘टर्मिनेटर’ बाट निकै लोकप्रिय बनेका अभिनेता आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्वगभर्नरसमेत हुन् ।
उनले एक घरेलु महिला कामदारसँग सम्बन्ध राखेर बच्चा जन्मेपछि पत्नी मारियासँग सम्बन्ध बिग्रिएको हो । त्यसपछि मारियाले सन् २०११ मा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन् । उनीहरू त्यही बेलादेखि नै अलग्गै बस्न थालेका हुन् । उनीहरूका २४, २८, ३० र ३२ वर्षका छोराछोरी छन् ।
फेसबुक पेज Like गर्नुहोस