प्रदेश प्रमुख फेरबदलमा सरकारले निरंकुश चरित्र देखायोः अध्यक्ष भट्टराई
काठमाडौं - आफुहरुको सहमति बिना नै प्रदेश प्रमुखहरु फेरबदल गरिएको भन्दै सत्ता साझेदार समाजवादी पार्टी (सपा) क्रूद्ध बनेको छ ।
प्रदेश प्रमुखहरूको बर्खास्तगी र नियुक्तिलाई सरकारको निरंकुश चरित्रका रुपमा लिँदै उक्त दलले यो संघीयताको मर्म विपरीत भएको पनि जनाएको छ ।
समाजवादी दलका अध्यक्ष डा। बाबुराम भट्टराईले ट्वीट गर्दै, ‘प्रदेशका गभर्नरको नियुक्ति र बर्खास्तगी दुबै वास्तविक संघीयताका मर्मविपरीत र दलीय रबर–स्ट्याम्बका प्रतीक हुन्’ भनेका छन् । उनले थप लेखेका छन्, ‘वर्तमान सरकारको एकमनावादी, एकात्मक र निरंकुश चरित्रको पुनर्पुष्टि भएको छ ।’
पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते नियुक्त गरेका प्रा। गोविन्दबहादुर तुम्बाहाङ, रत्नेश्वरलाल कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा, दुर्गाकेशर खनाल, र मोहनराज मल्ललाई पदमुक्त गरी नेकपाका सात नेतालाई प्रदेश प्रमुख बनाएपछि सपा अध्यक्ष भट्टराईले यस्तो टिप्प्णी गरेका हुन् ।
सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेका अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्दप्रसाद कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीले मंगलवार मात्र राष्ट्रपतिसमक्ष सपथ लिएका छन् ।
सरकारले यो निर्णय गर्दा आफूहरूसँग सल्लाह नै नगरेको सपा नेताहरूको गुनासो गरेका छन् । तर नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने सपा अध्यक्ष एवं उप्रधानमन्त्री उपेन्द्र यादवसँग सल्लाह भएरै निर्णय गरिएको दावी गरेका छन् ।
‘सबै संघीयता पक्षधर लोकतान्त्रिक शक्ति गम्भिर बनौं’ भन्दै डा। भट्टराईले लेखेका छन्, ‘जनयुद्ध, मधेस, जनजाति, थारु, दलित आन्दोलनकारी एक होऊँ ।’
फेसबुक पेज Like गर्नुहोस