काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टी एकताको सम्भावना कमजोर बन्दै गएको निष्कर्षसहित साउनभित्र राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ।
आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले राष्ट्रिय भेलाको मिति छिट्टै सार्वजनिक गर्ने जनाएको हो। कार्यक्रममा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा। शशांक कोइराला, विमलेन्द्र निधि, डा। प्रकाशशरण महतलगायत शीर्ष नेताहरूको सहभागिता थियो।
नेता मीनबहादुर विश्वकर्माले पार्टी एकता कायम राख्न पटक–पटक वार्ता भए पनि नेतृत्व पक्षबाट आवश्यक लचकता नदेखिएकाले सहमति जुट्न नसकेको बताए।
समूहले पार्टी एकताका लागि पाँच बुँदे प्रस्तावसमेत अघि सारेको छ। प्रस्तावअनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गरी सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख छ।
यस्तै, सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तथा महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्नुपर्ने प्रस्ताव पनि राखिएको छ।
समूहले तत्कालीन महामन्त्री गगन थापा नेतृत्वको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुने व्यवस्था गर्न र डिजिटल इन्ट्रीलाई सदस्यता नवीकरणसँग जोडेर महाधिवेशनमा सहभागी हुने अधिकारबाट वञ्चित गर्न नहुने प्रस्तावसमेत अघि सारेको छ।
यस्ता छन् पाँच प्रस्ताव
१. चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।
२. सभापति गगनकुमार थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने ।
३. पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।
४. वर्तमान संस्थापन पक्षको वहुमत रहनेगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने ।
५. महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनुपहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वत: सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनस् नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।

.gif)


