काठमाडौं - आफूलाई गैरन्यायिक रूपमा हिरासतमा राखेर मानसिक यातना दिइएको भन्दै इनम सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगसँग जीवन रक्षाको माग गरेका छन् ।

सापकोटाको तर्फबाट उनकी पत्नी कविता पाण्डेले आयोगमा चार पृष्ठ लामो उजुरी दिँदै हिरासतमा राख्दा आफूलाई यातना दिइएको, झुटा प्रमाण सिर्जना गर्न खोजिएको र विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको आरोप लगाएकी हुन् ।

आयोगमा १६४४ नम्बरमा दर्ता भएको उजुरी नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम पेस गरिएको उल्लेख छ ।

उजुरीअनुसार सापकोटालाई गत असोज १४ गते बिहान करिब १०ः३० बजे भारतको नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला नियन्त्रणमा लिइएको थियो ।

बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचस्थलमा पुगेका बेला प्रहरीले उनका दुईवटा मोबाइल खोसेर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको दाबी गरिएको छ ।

असोज १४ देखि १५ गते साँझसम्म आँखामा कालोपट्टी बाँधेर राख्दै सोधपुछ गरिएको र यस क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको सापकोटाको आरोप छ ।

उक्त व्यक्तिहरूविरुद्ध प्रमाण र बयान दिए रिहा गरिदिने प्रलोभन देखाइएको तथा अस्वीकार गरे आफू र परिवारलाई समेत दुःख दिने र लामो समय जेल बस्ने गरी झुटा मुद्दा लगाउने धम्की दिइएको उजुरीमा उल्लेख छ ।

आफूले नगरेको काममा अरू व्यक्तिविरुद्ध बयान दिन अस्वीकार गरेपछि प्रहरीले तयार पारेको कागज पढ्न लगाइएको र त्यसमा हस्ताक्षर गर्न दबाब दिइएको सापकोटाको दाबी छ । आफूले नजानेको र नगरेको विषयमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि असोज १५ गते साँझ आँखामा पट्टी र चश्मा लगाएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएको उनले बताएका छन् ।

प्रहरीले आफूलाई पढ्न लगाएका विषय रेकर्ड गरेर काँटछाँट गरी सार्वजनिक गरेको पनि सापकोटाको आरोप छ । नेपाली कांग्रेसको आधिकारिकता विवाद र सर्वोच्च अदालतका न्यायाधीशहरूको ‘सेटिङ’ सम्बन्धी अडियोका विषयमा आफन्त तथा प्रहरीको थप बयानका क्रममा मात्र जानकारी पाएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

त्यसपछि असोज १६ गते बिहान साढे ८ बजे हतकडी लगाएर दुईवटा सुटकेससहित पानीपोखरी हाइट होम्स अपार्टमेन्टस्थित निवासमा लगिएको र पाँच महिनाकी छोरी, पत्नी तथा जेठानहरूको उपस्थितिमा घर खानतलासी गरिएको उजुरीमा जनाइएको छ ।

खानतलासीका क्रममा पुरानो ल्यापटप, मोबाइल र केही कागजात मात्र फेला परेको अवस्थामा बाहिर आँगनमा राखिएका सुटकेसभित्रको साइड ब्यागबाट विदेशी मुद्रा निकालेर घरमै बरामद भएको भन्दै मुचुल्का तयार पारिएको सापकोटाको आरोप छ । मुचुल्का तयार गर्दा पत्नीलाई पहिल्यै खाली कागजमा हस्ताक्षर गराइएको र दुई दिनअघि नै प्रहरीले नियन्त्रणमा लिएको आइफोनसमेत गलत ढंगले मुचुल्कामा समावेश गर्न खोजिएको दाबी गरिएको छ ।

सापकोटाले असोज १४ गते साँझ विमानस्थलअगाडिको सार्वजनिक सडकमा महिला लगायत सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा झुटो मुद्दा लगाएर म्याद थप गरिएको जिकिर गरेका छन् ।

आफू विमानस्थलभित्रैबाट पक्राउ परेको दाबी गर्दै उनले घटनास्थलको सीसीटीभी फुटेज र बोर्डिङ पास जाँच गर्न माग गरेका छन् ।

त्यस्तै, आफ्नो साथबाट एक हजार ३०० अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको विषयमा कानुनी व्यवस्था पालना गरेरै रकम बोकेको जिकिर गरिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र, २०८२ को विषयसूची नम्बर ९ अनुसार कानुन व्यवसायीले बहस गरेपछि पनि थुनामै राख्ने उद्देश्यले सम्पत्ति शुद्धीकरणको मुद्दा थपिएको आरोप उजुरीमा लगाइएको छ ।

प्रहरी नियन्त्रणमा रहेका बेला आफ्नो मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिको हातमा पुर्‍याएर छेडछाड गरिएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी सिर्जना गरिएका कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत गर्न खोजिएको सापकोटाको दाबी छ ।

अनुसन्धानका सामग्री चुहाएर आरोप प्रमाणित हुनुअघि नै आफूलाई ‘देशकै सबैभन्दा ठूलो बिचौलिया’ र ‘फिक्सर’ जस्ता उपनाम दिई सञ्चारमाध्यममार्फत बदनाम गरिएको तथा पत्नीलाई समेत लाञ्छना लगाइएको उनको आरोप छ ।

यस्ता गतिविधिले नेपालको संविधानको धारा २० ले सुनिश्चित गरेको न्यायसम्बन्धी हकअन्तर्गत निर्दोषिताको अनुमान र स्वच्छ सुनुवाइको अधिकार तथा धारा २८ को गोपनीयताको हक कुण्ठित भएको उजुरीमा जिकिर गरिएको छ ।

सापकोटाको पत्नीले दिएको उजुरीमा हिरासतमा भएका भनिएका घटनाको छानबिन गरी मानवअधिकारको संरक्षण तथा सापकोटाको जीवन रक्षाका लागि आवश्यक पहल गर्न राष्ट्रिय मानवअधिकार आयोगसँग माग गरिएको छ ।