काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार र छठ पर्वयता भएका प्रमुख कार्यसम्पादनका विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार यस अवधिमा प्रधानमन्त्री शाहले भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरेका छन्। मंसिर ६ र ७ गते भएको भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता हुनुका साथै विभिन्न महत्त्वपूर्ण सहकार्यका विषयमा छलफल भएको सरकारले जनाएको छ।

यसै अवधिमा सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि तयार पारिएको एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरेको छ। बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ। नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ।

सरकारका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। त्यसमध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार गरिएको छ। त्यस्तै, राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदालाई विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीको सुझावका आधारमा परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको छ।

सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता बढाउन तथा तीनै तहका सरकारका कार्यक्रमबीच दोहोरोपना हटाउन अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ। नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ र सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारीसमेत अघि बढाइएको छ।

साइबर सुरक्षातर्फ राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा भएको कार्यशालामा विभिन्न नियामक तथा सुरक्षा निकायका प्रतिनिधिबीच संवेदनशील पूर्वाधारको सुरक्षा र साइबर जोखिमका विषयमा छलफल भएको थियो।

यसबीच सिंहदरबार प्रवेशद्वारमा लामो समयदेखि अवरुद्ध गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ।

ऊर्जा तथा पूर्वाधार क्षेत्रमा तल्लो अरुण जलविद्युत् परियोजनाको विकासकर्ता छनोट गरिएको सरकारले जनाएको छ। लगानी सम्मेलन २०१९ मा सोकेस गरिएको उक्त परियोजना बीओओटी मोडलमा निर्माण हुनेछ। नेपाल–भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेको परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ।

सार्वजनिक खरिदलाई व्यवस्थित र पारदर्शी बनाउनेतर्फ पनि विभिन्न काम अघि बढाइएको छ। निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श प्रदान गरिएको छ। सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गरिएको छ।

त्यस्तै, सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ। नयाँ विद्युतीय सरकारी खरिद प्रणाली ९ई–जीपी० समेत सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीमा कार्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्।

सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ। कर्मचारीको आचारसंहिता पालना, सेवा प्रवाह र सेवाग्राही सन्तुष्टिको अवस्था अनुगमन गर्न विभिन्न जिल्लामा टोली खटाउनुका साथै सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ।

यसैगरी, नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र व्यावसायिक सदुपयोगको सम्भावना अध्ययन गर्न धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रमा अनुगमन गरिएको छ। उक्त सम्पत्तिको दिगो उपयोगका लागि लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको सरकारले जनाएको छ।