काठमाडौं - गृहमन्त्री सुधन गुरुङको सांस्कृतिक विधिअनुसारको विवाह आगामी मंसिर १७ गते हुने भएको छ ।

गुरुङले कानुनी विवाह भने यसअघि नै गरिसकेका छन् । तर, परम्परागत तथा सांस्कृतिक विधिअनुसार विवाह गर्न लागेका हुन् ।

यसैबीच, गुरुङको आज काठमाडौंमा इन्गेजमेन्ट भइरहेको स्रोतले जानकारी दिएको छ ।

इन्गेजमेन्ट समारोहमा सीमित व्यक्तिलाई मात्रै निमन्त्रणा गरिएको छ । कार्यक्रममा गुरुङ र उनकी पत्नीका परिवारका सदस्य मात्रै सहभागी छन् ।

इन्गेजमेन्टलाई पारिवारिक जमघटका रूपमा सीमित राखिए पनि मंसिर १७ गते गोरखामा हुने विवाह समारोह भने धुमधामका साथ गर्ने गुरुङको तयारी रहेको बताइएको छ ।

कानुनी विवाहपछि गुरुङकी पत्नी अमेरिका गएकी थिइन् । उनी केही समयअघि नेपाल फर्किएकी हुन् ।