काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको १ सय ४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका ओपनर आशिफ शेख गोल्डेन डकआउट हुँदा देव खनाल २ रनमा आउट भए । त्यसबेला नेपालले १० रन बनाएको थियो ।
इशान पाण्डे २० रन र कप्तान रोहित पौडेल १० रनमा आउट भए । त्यसपछि अर्जुन कुमालले अविजित ४५ रन तथा दीपेन्द्र सिंह ऐरीले अविजित १२ रन बनाउँदै नेपाललाई जित दिलाए ।
मलेसियाका सायुद अजिज, आरिफ उल्लाह, भिरानदीप सिंह र प्रधान्त मधुकरले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२।३ ओभरमा १ सय ३ रनमै अलआउट भएको थियो ।
नेपालका करण केसीले उत्कृष्ट सुरुवात दिलाउँदै ओपनर नाजमस सकिबलाई ३ रन र सेफ उल्लाहलाई ९ रनमा आउट गरे । मलेसियाले १४ रन जोड्दा दुवै ओपनर पभेलियन फर्किएका थिए ।
त्यसपछि पनि नेपालले लगातार विकेट लिँदा मलेसियाले ठूलो योगफल बनाउन सकेन । कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोड्दा अकिल वाहिदले २४, भिरानदीप सिंहले १४ र स्याहादत रामिलले १३ रन बनाए ।
नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । ललित नारायण राजवंशीले २ तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो ।

.gif)


