काठमाडौं - चीन सरकारले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण बिहीबार अपराह्न नेपाल आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
सोही विमानमार्फत नेपालमा काम गर्न चिनियाँ फरेन्सिक विज्ञहरूको चौथो टोलीका १० जना विशेषज्ञ पनि काठमाडौं आइपुगेका छन् ।
राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए । उनीहरूले राहत सामग्री ग्रहण गर्नुका साथै नेपाल आइपुगेका चिनियाँ विज्ञ टोलीलाई स्वागत गरेका थिए ।
चीनबाट आएको तेस्रो चरणको राहत सामग्रीमा शव राख्न प्रयोग हुने फ्रिजर, महामारी रोकथामसम्बन्धी सामग्री तथा दैनिक उपभोग्य आवश्यक सामग्री रहेका छन् ।
नेपाल आएका चिनियाँ फरेन्सिक विज्ञहरूले विपद्मा परी मृत्यु भएकाहरूको पहिचान प्रक्रिया अघि बढाउन नेपाली पक्षलाई सहयोग गर्ने जनाइएको छ । उनीहरूले नेपाल आइपुगेलगत्तै काम सुरु गर्नेछन् ।
यस चरणको राहत सामग्रीमा विपद् उद्धार तथा राहत कार्यका लागि आवश्यक बेली पुलसमेत समावेश छन् । पहिलो चरणका बेली पुल निर्माणका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकामा पुगिसकेको र हस्तान्तरणको तयारी भइरहेको जनाइएको छ ।
चीनले यसअघि पनि नेपाललाई आपत्कालीन राहत सामग्री, उद्धार उपकरण तथा विशेषज्ञ टोली उपलब्ध गराउँदै आएको छ ।

.gif)


