काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन्। कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत् काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बारा पचरौता नगरपालिका–१ पिपरपाटीका अन्दाजी ३३ वर्षीय अनिस अन्सारीलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका ७९.६ ग्राम गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै,कतारको दोहा हुँदै काठमाडौं आएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको गतिविधि शंकास्पद देखिएपछि विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइ जाँच गर्दा भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो पदार्थ ५३६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।