काठमाडौं - प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आज बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। 

आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’, ‘निजीकरण पहिलो संशोधन विधेयक २०८१’,‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’,‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि सांसदबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेश गरिने र मन्त्रीबाट विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। 

मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपतिबाट अध्यादेश जारी भएपश्चात गत फागुन २१ र २२ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट ५ वटै अध्यादेश पारित भएको थियो। संसद्बाट पारित भएपछि सरकारले ५ वटै अध्यादेशको प्रतिस्थापन विधेयक कार्यसूचीमा राखेको हो। संसदबाट स्वीकृत भएका अध्यादेश २६ दिनमा प्रतिस्थापन विधेयक ल्याएर राष्ट्रपतिबाट प्रमाणीकरण समेत भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।