काठमाडौं - नेकपा एमालेले केन्द्रीय कमिटीमा ३३ जना सदस्य मनोनीत गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका ३३ जनाको नाम बैठकले अनुमोदन गरेको हो । मनोनीत हुनेमध्ये १३ जना अन्य दलबाट एमाले प्रवेश गरेका नेता रहेको बताइएको छ ।

एमालेको विधानअनुसार केन्द्रीय कमिटीको १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्था छ ।

यसअघि बिहीबारकै सचिवालय बैठकले सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो । ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाङ्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारी स्थायी कमिटी सदस्यमा मनोनीत भएका हुन् ।

पूर्वउपाध्यक्ष पोखरेल गत पुसमा सम्पन्न एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । त्यसपछि बिहीबारको सचिवालय बैठकले उनलाई स्थायी कमिटीमा मनोनीत गरेको हो ।

यस्तै, एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको छ । भण्डारीको पार्टी सदस्यता लामो समय रोकिएपछि गत जेठमा पुनः सदस्यता खुलाउने निर्णय गरिएको थियो ।

राष्ट्रपति बनेपछि पार्टी राजनीतिमा सक्रिय हुन नमिल्ने तर्क गर्दै एमालेले यसअघि उनको सदस्यता रोकेको थियो । गत फागुनको निर्वाचनपछि पार्टीभित्र समीक्षा गर्दै भण्डारीको सदस्यता खुलाउने निर्णय गरिएको थियो ।