काठमाडौं - सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार विशेष अदालत, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोलगायत विपक्षीलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सर्वोच्चले निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्नुपर्ने हो वा होइन भन्ने आधार र कारण स्पष्ट पार्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको छ ।
त्यस्तै, सर्वोच्चमा विचाराधीन भट्टविरुद्ध नेपाल सरकारका दुई मुद्दासमेत अवलोकनका लागि यही मुद्दासँगै राखेर पेस गर्न आदेश दिइएको छ ।
भट्ट विशेष अदालतको आदेशपछि सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा रहेका छन् ।
सर्वोच्चको आदेशले अब भट्टलाई थुनामा राख्नुको कानुनी आधारबारे सम्बन्धित निकायको लिखित जवाफ मागिएको छ ।



