काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित यूएईको स्थायी नियोगमा भएको भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो।
भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति यूएई सरकार र जनताले व्यक्त गरेको सहानुभूति तथा ऐक्यबद्धताका लागि धन्यवाद दिएका छन्। उनले बाढीपीडितका लागि यूएईले उपलब्ध गराएको मानवीय सहयोगप्रति पनि नेपाल र नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे।
खनालले बाढी प्रभावित समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने यूएईको प्रतिबद्धताप्रति समेत धन्यवाद व्यक्त गरेका छन्।
भेटमा दुवै पक्षले आपसी हितका विषयमा रचनात्मक छलफल गर्दै पारस्परिक लाभका क्षेत्रमा नेपाल–यूएई सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका थिए।
त्यस क्रममा श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्यलगायतका विषयमा समेत छलफल भएको जनाइएको छ।




