अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी
काठमाडौं - सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा सुनुवाइ जारी छ। अदालतको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ जारी छ। काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा.कुमार चुडालको संवैधानिक इजलासमा सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ भइरहेको हो।
संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन्। अर्जुनकी पत्नी पूर्णमाया लामा,कनकमणि दिक्षीत र सुशिल प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए। विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो। लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो।
यसअघि सर्वोच्चले गत असोज ९ गते हालसम्म भएका प्रगति विवरण माग गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले अनुसन्धानका विवरण झिकाउन आदेश गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस