कागेश्वरीका प्रमुख प्रशासकीय अधिकृत मिश्रको बिर्तामोड सरुवा,नगरप्रमुख कार्कीले गरे बिदाइ
काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई नगर प्रमुख उपेन्द्र कार्कीले विशेष कार्यक्रम आयोजना गरी बिदाइ गरेका छन्। झापाको विर्तामोड नगरपालिकामा सरुवा भएका मिश्रले १५ महिनाको कार्यकालमा शिक्षा, स्वास्थ्य र प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार गर्दै नगरपालिकालाई प्रभावकारी बनाएका थिए।
कडा स्वभाव र दृढ इच्छाशक्ति भएका मिश्रले नगरपालिका प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने काम गरेका थिए। विशेषगरी शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य सेवामा सहज पहुँच, नगरपालिकाको आन्तरिक व्यवस्थापन सुदृढीकरण, सेवा प्रवाहको सरलता, र भ्रष्टाचार नियन्त्रण जस्ता विषयमा उनले विशेष ध्यान दिएका थिए।
उनको नेतृत्वमा नगरपालिकाले थुप्रै सुधारात्मक योजनाहरू अगाडि बढाएको थियो, जसले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याएको छ। मिश्रले नगरपालिका भित्र सेवा प्रवाहलाई चुस्त बनाउने, अनावश्यक ढिलासुस्ती हटाउने र पारदर्शिता कायम राख्ने अभियान चलाएका थिए।
बिदाइ कार्यक्रममा नगर प्रमुख कार्कीले मिश्रको नेतृत्वमा भएका सकारात्मक परिवर्तनहरूको प्रशंसा गर्दै उनको भावी कार्यकालका लागि शुभकामना व्यक्त गरे। "सागर मिश्रज्यूको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका प्रशासनिक सुधार, सेवा प्रवाहको सहजता र जनमुखी निर्णयहरूमा निकै सफल रह्यो। उहाँको योगदान नगरबासीले सधैं सम्झने छन् ।" नगर प्रमुख कार्कीले भने।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, स्थानीय समाजसेवी तथा नागरिक प्रतिनिधिहरूको उपस्थिति थियो। उपस्थित धेरैले मिश्रले काम गर्ने शैली, प्रशासनिक सुधार र पारदर्शिता कायम गर्ने क्षमताको प्रशंसा गरे।अब मिश्रले विर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हाल्ने छन्।
फेसबुक पेज Like गर्नुहोस