बलिउडका महान् संगीतकार खय्यामको मृत्यु
एजेन्सी – बलिउडका महान् संगीतकार मोहम्मद जाहुर खय्याम हाशमीको सोमवार राति मुम्बईमा निधन भएको छ ।
खय्याम नामले प्रसिद्ध यी संगीतकारको हृदयघातका कारण मृत्यु भएको हो । पद्मभूषण प्राप्त खय्यामको फोक्सोमा संक्रमण भएको थियो र तीन हप्ताअघि अस्पतालमा भर्ना भएदेखि नै उनको स्वास्थ्यस्थिति गम्भीर थियो ।
९३ वर्षका खय्यामले कभी कभी, उमराव जान, नूरी, राजिया सुल्तान, बजार लगायतका फिल्ममा कालजयी संगीत दिएका थिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खय्यामको निधनमा दुःख व्यक्त गरेका छन्। ‘खय्याम साहबको निधनबाट अत्यन्त दुखी छु। उहाँको अविस्मरणीय धुनले अनगिन्ती गीतलाइ अमर बनाएको छ जुन सदैव स्मरणीय रहनेछु, मोदीले ट्विट गरेका छन्, 'उहाँले सांगीतिक क्षेत्रमा दिएको असीमित योगदानले चलचित्र तथा कला जगत सदैव ऋणि रहनेछ। नयाँ कलाकारहरुलाई सहयोग गर्न तत्पर रहने उहाँको मानवीय व्यवहार पनि उत्तिकै यादगार छ।’
इन आँखो कि मस्ती के (उमराव जान), आजा रे आजा ओ मेरे दिलबर आजा (नुरी), मै पल दो पलका शायर हुँ (कभी कभी), ये दिले नादान)रजिया सुल्तान), दिखाइ दिए ( बजार), खानदान, थोडी सी बेवफाइ जस्ता चलचित्रमा सदाबहार र कालजयी संगीत भरेका खय्याम संगीत नाटय एकेडेमी पुरस्कार, पदम भूषणबाट पनि सम्मानित थिए। उनले तीनवटा फिल्मफेयर अवार्ड पनि हात पारेका थिए।
खय्यामको अन्तिम संस्कार मंगलवार अपराह्नमा गरिनेछ ।
फेसबुक पेज Like गर्नुहोस